काठमाडौं - सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि गरेको फैसलामाथि पुनरावलोकन गर्न अनुमति दिएको छ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बुधबार पुनरावलोकनका लागि ‘निस्सा’ (अनुमति) प्रदान गर्ने आदेश दिएको हो। यससँगै कांग्रेसको आधिकारिकता सम्बन्धी मुद्दाको पुनः सुनुवाइ हुने भएको छ।
यसअघि कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पुनरावलोकनको माग गर्दै निवेदन दिएका थिए। अदालतले सो निवेदनमाथि सुनुवाइ गर्दै पुनरावलोकनका लागि अनुमति दिएको हो।
यसअघि गत वैशाख ४ गते न्यायाधीश सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा रहेको कार्यसमितिलाई आधिकारिक मान्यता दिने फैसला गरेको थियो।
अब सर्वोच्च अदालतले उक्त फैसलाको पुनः सुनुवाइ गरी अन्तिम निर्णय दिनेछ।

