काठमाडौं - लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार बिहीबार बिहानसम्म देशभर कम्तीमा २० वटा मुख्य सडक तथा राजमार्ग प्रभावित भएका छन्। तीमध्ये १५ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ४ वटा एकतर्फी सञ्चालन र १ सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
सबैभन्दा बढी असर बागमती प्रदेशमा परेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चारकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा बन्द रहेको छ। दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटर क्षेत्रमा लामाबगर–रामेछाप सडक, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली–स्याफ्रुबेँसी सडक, तथा चितवनको इच्छाकामना गाउँपालिका–५ मा पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ।
काठमाडौं उपत्यकामा नागार्जुन नगरपालिका–८ ढुङ्गेखोलामा पहिरो खसेपछि सितापाइला–धार्के सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। यता ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुर क्षेत्रमा कान्तिलोकपथ पूर्ण रूपमा बन्द छ। काभ्रेमा सम्भावित बाढीका कारण खुर्कोट–नेपालथोक–कुचौनेसी हुँदै बीपी राजमार्गमा बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म मात्र सवारी सञ्चालन गर्न दिइएको छ। मकवानपुर खण्डको कान्तिलोकपथमा भने रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। इलामको राजदुवाली क्षेत्रमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा बन्द छ भने पाँचथरको तुम्बेवा गाउँपालिकामा बाढीले तमोर करिडोर सडकखण्ड अवरुद्ध बनाएको छ।
गण्डकी प्रदेशमा मनाङको धारापानी क्षेत्रमा चामे–बेँसीसहर सडक र मुस्ताङको थासाङ क्षेत्रमा बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा छन्। बागलुङको जैमिनी नगरपालिका–८ बेलबासमा कालिगण्डकी करिडोर तथा म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा बेनी–जोमसोम सडक पूर्ण रूपमा बन्द रहेको छ।
लुम्बिनी प्रदेशमा रुकुमपूर्वको भूमे गाउँपालिका–३ मा मध्यपहाडी लोकमार्ग, पाल्पाको निस्दी गाउँपालिका–१ मा कालिगण्डकी करिडोर र अर्घाखाँचीको शितगंगा नगरपालिका–२ मा सन्धिखर्क–गोरुसिङ्गे सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्।
कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ सिजीगाई खोलामा आएको बाढीले भेरी करिडोर (जाजरकोट–डोल्पा सडक) बन्द भएको छ। मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा नाग्म–गमगढी सडक र जुम्लाको चन्दननाथ नगरपालिका–७ महत गाउँमा पहिरोका कारण नाग्म सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।
नेपाल प्रहरीले प्रभावित सडकमा यात्रा गर्दा अत्यधिक सावधानी अपनाउन, वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रा अघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

