काठमाडौं - आज देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मौसमविद्का अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रसहित मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ।
बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भू-भाग, कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्र, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
यस्तै, कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली क्षेत्रमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
राति पनि देशभर सामान्य बदली कायम रहनेछ। हिमाली र पहाडी क्षेत्रका केही स्थान तथा तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरुद्ध हुने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

