Harsamaya
लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त
लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा यांकी उक्याब नियुक्त ।

काठमाडौं - सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा यांकी उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई बोर्डको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

लगानी बोर्ड नेपाल विदेशी तथा स्वदेशी ठूला लगानी परियोजनाको स्वीकृति, सहजीकरण तथा लगानीमैत्री वातावरण निर्माण गर्ने प्रमुख निकाय हो । बोर्डले ऊर्जा, पूर्वाधार, पर्यटन, यातायात लगायतका रणनीतिक क्षेत्रका ठूला परियोजनाको प्रवद्र्धन तथा व्यवस्थापन गर्दै आएको छ ।

नवनियुक्त सीईओ उक्याब विकास अर्थशास्त्र र सार्वजनिक नीतिको क्षेत्रमा अनुभवी विज्ञका रूपमा परिचित छिन् । उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकार (सिनियर पोलिसी एडभाइजर) का रूपमा कार्य अनुभव हासिल गरेकी छन् ।

उक्याबले बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर (मास्टर अफ पब्लिक पोलिसी–एमपीपी) अध्ययन गरेकी छन् । विकास नीति, आर्थिक रूपान्तरण, लगानी प्रवद्र्धन तथा संस्थागत सुधारका क्षेत्रमा उनको अनुभव रहेको बताइएको छ ।

सरकारले लगानी आकर्षित गर्ने, ठूला परियोजनाको कार्यान्वयनलाई गति दिने तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउने लक्ष्यसहित उक्याबलाई नेतृत्वको जिम्मेवारी दिएको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update