काठमाडौं - बजारमा एलपी ग्यासका लागि उपभोक्ता डिपोमा सयौंको संख्यामा लाइन लागिरहेका बेला नेपाल आयल निगमले भने ग्यासको अभाव नरहेको दाबी गरेको छ।
निगमले मंगलबार विज्ञप्ति जारी गर्दै दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहेको र बजारमा अभाव नभएको जनाएको हो। ग्यास उद्योगलाई सहज आपूर्ति गर्न निर्देशन दिइएको तथा उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरिएको निगमको भनाइ छ।
तर काठमाडौंका विभिन्न डिपोमा ग्यास लिन बिहानैदेखि लामो लाइन देखिएको छ। १४.२ केजी क्षमताका सिलिन्डरको बिक्री सुरु भएपछि बजारमा अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो बढिरहेको अवस्थामा निगमले भने आपूर्तिमा कुनै समस्या नरहेको दाबी दोहोर्याएको छ।
निगमका अनुसार साउन १ देखि १८ गतेसम्म ३१ हजार ८६१ मेट्रिक टन एलपी ग्यास आयात भइसकेको छ। मासिक औसत ४७ हजार मेट्रिक टन ग्यास खपत हुने भएकाले मागअनुसार आयातसमेत बढाइएको जनाएको छ।
निगमले ग्यासको नियमित आपूर्ति भइरहेकाले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण नगर्न आग्रह गरेको छ।

