काठमाडौं - प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले काठमाडौं–३ अन्तर्गत गोकर्णेश्वर नगरपालिका–४ को माकलबारी बस स्ट्यान्डदेखि देशेतर्फ जाने सडक विस्तारका क्रममा नेपाली सेनासँग पूर्ण समन्वय र सहकार्य भएको स्पष्ट पारेका छन्।
साउन १८ गते जारी विज्ञप्तिमा उनले नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको पर्खाल हटाउने क्रममा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विषयप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
विज्ञप्तिअनुसार प्रारम्भिक चरणमा सम्बन्धित नेपाली सेनाको टुकुडीलाई आवश्यक जानकारी पुग्न केही मिनेट ढिलाइ हुँदा सामान्य असहज अवस्था सिर्जना भएको थियो। त्यसपछि नेपाली सेनाका प्रमुख सेनानीसँग समन्वय र छलफल भई सेनाकै पूर्ण सहयोगमा सडक विस्तारको काम सम्पन्न गरिएको पाण्डेले बताएका छन्।
उक्त कार्य काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति तथा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा सम्पन्न भएको पनि विज्ञप्तिमा उल्लेख छ।
पाण्डेले वास्तविकता नबुझी सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत भ्रम फैलाउने, संस्थाबीच अनावश्यक विवाद सिर्जना गर्ने वा तथ्यभन्दा फरक निष्कर्ष प्रस्तुत नगर्न सबैसँग आग्रह गरेका छन्। साथै, नेपाली सेनासहित सबै राज्य संयन्त्रसँग सहकार्य, आपसी सम्मान र समन्वय नै आफ्नो प्राथमिकता रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
माकलबारीतर्फबाट गोकर्णेश्वर मन्दिरतर्फ जाने ठाउँमा जंगलका कारण विस्तार हुन नसकेको ठाउँमा सांसद पाण्डेसहितका जनप्रतिनिधिको उपस्थितिमा सडक विस्तार गर्दा विवाद भएको थियो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण फरेष्ट रिटोर्स जंगलको पर्खाल भत्काएर सडक विस्तार गर्दा नेपाली सेनाका प्रतिनिधिले असहमति जनाएका थिए। गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्र छ ।
सांसद पाण्डेले आफूले प्रधानमन्त्री शाहसँग कुरा गरेरै काम गर्न लागेको हुँदा जनताको सुविधाका लागि सडक खोल्दा फरक नपर्ने जवाफ दिएको भिडियो यतिखेर सामाजिक सञ्जालमा छरपस्ट देखिन्छ।

