Harsamaya
भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोरको ऐतिहासिक जित
जन सुराजका संस्थापक प्रशान्त किशोर ।

एजेन्सी - जन सुराजका संस्थापक प्रशान्त किशोरले बिहारको बाँकीपुर विधानसभा उपनिर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)को तीन दशकदेखिको वर्चस्व तोड्दै ऐतिहासिक जित हासिल गरेका छन्।

अन्तिम मतपरिणामअनुसार प्रशान्त किशोरले ६३ हजार २०३ मत प्राप्त गर्दै भाजपाका नीरज सिन्हालाई १८ हजार ९५३ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। नीरज सिन्हाले ४४ हजार २५० मत प्राप्त गरे भने राष्ट्रिय जनता दल (आरजेडी)की उम्मेदवार रेखा कुमारीले १४ हजार ८५ मतमा चित्त बुझाइन्।

यससँगै बाँकीपुरमा करिब ३० वर्षदेखि कायम रहेको भाजपाको पकड अन्त्य भएको छ। सन् १९९५ यता यो निर्वाचन क्षेत्र निरन्तर भाजपाको कब्जामा थियो। सन् २००८ को निर्वाचन क्षेत्र पुनःनिर्धारणअघि यो क्षेत्र 'पटना पश्चिम' का नामले परिचित थियो।

भाजपाका वरिष्ठ नेता नितिन नवीनले यो सिटबाट पटक–पटक जित हासिल गरेका थिए। सन् २०२५ को विधानसभा निर्वाचनमा उनले आरजेडीकी रेखा कुमारीलाई ५१ हजार ९३६ मतको अन्तरले पराजित गरेका थिए। यसअघि सन् २०२० मा पनि उनले कांग्रेस उम्मेदवार लव सिन्हालाई करिब ३९ हजार मतले हराएका थिए।

यो निर्वाचन क्षेत्र नितिन नवीनको परिवारको राजनीतिक प्रभावको केन्द्रसमेत मानिन्थ्यो। उनका पिता नवीन किशोर प्रसाद सिन्हाले सन् १९९५ देखि २००५ सम्म लगातार जितेका थिए। उनको निधनपछि सन् २००६ को उपनिर्वाचनमा नितिन नवीन विजयी हुँदै राजनीतिक यात्रा सुरु गरेका थिए।

विजयपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रशान्त किशोरले जनताले परिवर्तनको पक्षमा स्पष्ट सन्देश दिएको बताए। उनले बिहारको विकासलाई प्राथमिकतामा राख्दै राज्यबाट हुने बसाइँसराइ अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, उनले भाजपाको केन्द्रीय नेतृत्वसँग बिहारका लागि सक्षम मुख्यमन्त्री चयन गर्न आग्रहसमेत गरे।

पटना जिल्लाका १४ विधानसभा निर्वाचन क्षेत्रमध्ये बाँकीपुरलाई सबैभन्दा प्रतिष्ठित र राजनीतिक रूपमा प्रभावशाली सिट मानिन्छ। यस क्षेत्रमा राजेन्द्र नगर, मीठापुर, गर्दनीबाग, सचिवालय, कदमकुआँ, बोरिङ रोड र गान्धी मैदानजस्ता महत्वपूर्ण क्षेत्र समेटिएका छन्।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update