Harsamaya
भाजपा गढमा प्रशान्त किशोरको अग्रता
बिहारमा ‘जन सुराज’का संस्थापक प्रशान्त किशोर ।

काठमाडौं - भारतका बिहार, मध्य प्रदेश र गुजरातमा सम्पन्न उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा अधिकांश स्थानको नतिजा स्पष्ट भएको छ। बिहारमा ‘जन सुराज’का संस्थापक प्रशान्त किशोरले उल्लेखनीय अग्रता कायम गरेका छन् भने गुजरातमा भारतीय जनता पार्टी (भाजपा)ले जित हात पारेको छ।

बिहारको बांकीपुर विधानसभा निर्वाचन क्षेत्रमा मतगणनाको २५औँ चरणसम्म प्रशान्त किशोरले ५० हजार ९७६ मत प्राप्त गर्दै १४ हजार ९५३ मतको अग्रता बनाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी भाजपाका नीरज कुमारले ३६ हजार २३ मत प्राप्त गरेका छन्।

बांकीपुर सिटलाई बिहार भाजपा अध्यक्ष नितिन नवीनको परम्परागत निर्वाचन क्षेत्र मानिन्छ। उनी लगातार पाँच पटक विधायक निर्वाचित भएका थिए। राज्यसभामा निर्वाचित भएपछि उक्त सिट रिक्त बनेको थियो र त्यसैका लागि उपनिर्वाचन भएको हो।

यता, मध्य प्रदेशको दतियामा कांग्रेसका घनश्याम सिंह मतगणनाको १०औँ चरणसम्म १० हजारभन्दा बढी मतले अगाडि छन्। उनले हालसम्म ५० हजार ३०७ मत प्राप्त गरेका छन् भने भाजपाका आशुतोष तिवारीले ३९ हजार ३९६ मत पाएका छन्। पूर्व गृहमन्त्री नरोत्तम मिश्रको स्थानमा उम्मेदवार बनाइएका आशुतोष आफ्नै राजनीतिक आधार क्षेत्रका मतदान केन्द्रमा समेत कांग्रेस उम्मेदवारभन्दा पछाडि परेका छन्।

यसैबीच, गुजरातको मन्जलपुरमा भाजपाका सतेन्द्रभाइ (सतिश) पटेल विजयी भएका छन्। उनले कांग्रेसका भिखाभाइ रबारीलाई ३० हजार ४९९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। उक्त निर्वाचन क्षेत्रमा गत जुलाई ३० मा भएको मतदानमा ३७.०५ प्रतिशत मत खसेको थियो।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update