मुगु - मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा आइतबार राति एक्कासी आएको सुक्खा पहिरोका कारण स्थानिय बासिन्दा घर छाड्न बाध्य भएका छन् ।
आइतबार राति करिब ८:३० बजे गाउँपालिका कार्यालय नजिकैको डाँडाबाट अचानक ढुङ्गा खस्न थालेसँगै स्थानीयले घर छाडेर गएपछि बजार क्षेत्र सुनसान बनेको छ ।
मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द रावलका अनुसार ढुङ्गा खस्ने क्रम सुरु भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
केही दिनअघि सोही क्षेत्रमा गएको पहिरोमा परी ३ वर्षीय बालकको मृत्यु भएको थियो भने ६ वटा घर पूर्ण रूपमा क्षति भएका थिए ।
वर्षासँगै पहिरो र ढुङ्गा खस्ने जोखिम बढिरहेकाले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन र आवश्यक परे थप सुरक्षा व्यवस्थापन गर्न स्थानीय प्रशासनसँग आग्रह गरिएको छ ।

