काठमाडौं - लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्।
नेपाल प्रहरीले सोमबार बिहान ६ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै कतिपय सडक पूर्ण रूपमा बन्द भएको, केहीमा एकतर्फी सञ्चालन गरिएको र केही सडकमा समय तोकेर मात्रै सवारी सञ्चालन भइरहेको जनाएको छ।
प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुर क्षेत्रमा पहिरो खसेपछि कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।
कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालन गरिएको छ। इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा अतिवृष्टिपछि मेची राजमार्ग पूर्ण रूपमा बन्द छ भने तेह्रथुमको लालीगुराँस नगरपालिका–१ काडे क्षेत्रमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
बागमती प्रदेशमा काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी हुँदै चल्ने विपी राजमार्ग मा सम्भावित बाढीको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालन रोकिएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्थाअनुसार सवारी सञ्चालन गरिने व्यवस्था गरिएको छ।
त्यस्तै, मकवानपुरको हेटौंडा–भिमफेदी–बागमती–ललितपुर (कान्तिलोकपथ) मा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।
यसैबीच, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो (तातोपानी जाने सडक) र भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग अझै पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले वर्षा अझै जारी रहने पूर्वानुमान रहेकाले पहिरो र बाढीको जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा यात्रा अघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न आग्रह गरेको छ।

