Harsamaya
बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको चेतावनी
मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौं - देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईसहित कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। साथै बागमती, गण्डकी, कोशी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा पनि वर्षा जारी रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेशका धेरै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ भने कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुने पूर्वानुमान छ।

मौसमविद्ले भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो र तराईमा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update