सिन्धुपाल्चोक - रास्वपा सिन्धुपाल्चोकको नेतृत्व चयनको लागि साउन २२ गते हुने निर्वाचनमा ५ सदस्यको लागि १० जनाको उम्मेदवारी परेको छ। जिल्ला सदस्यमा महिला तर्फबाट कमला भण्डारी र लक्ष्मी अधिकारी सर्वसम्मत भए पनि बाँकी ५ सदस्यको लागि निर्वाचन हुन लागेको हो।
रास्वपा सिन्धुपाल्चोकका अनुसार जिल्ला सदस्यको लागि नवराज भट्टराई, प्रदिप सिलवाल, गोकर्ण बिक्रम, धर्मलाल श्रेष्ठ, संसार श्रेष्ठ, पासाङतेम्बा शेर्पा, राजेश कुमार शर्मा, जितेन्द्र स्याङ्बो, गङ्गाबहादुर तामाङ र भुवेन्द्रबहादुर क्षेत्रीको उम्मेदवारी परेको छ।
यसैगरी सभापतिसँगै अन्य पदाधिकारीमा हुने प्रतिस्पर्धा पनि रोचक छ। सभापतिमा जेपी सिलवाल, पासाङ तामाङ, चक्रपाणि सिग्देल, कुमार श्रेष्ठ र दिलराम श्रेष्ठ मैदानमा छन् भने उपसभापतिको लागि मुके शेर्पा, निमायाङछिन लामा र ज्ञानी थापा बस्नेतले प्रतिस्पर्धा गरिरहेका छन्। त्यस्तै सचिवमा राजीव भवाल र सरोजा श्रेष्ठसँगै सहसचिवमा बिदुर खड्का र दोर्जे तामाङ मैदानमा छन्।
यसैबीच सभापतिका उम्मेदवारमा जेपी सिलवाल विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। आयोगका अनुसार उक्त उजुरीले सिलवालको उम्मेदवारीलाई केही असर भने गर्ने छैन। निर्वाचन आयोगका संयोजक भुवन केसीले हिजो कसले कुन पार्टीबाट जित्यो भन्ने कुराले अहिले अर्थ नराख्ने बताए । रास्वपामा अधिकांश अरू पार्टीबाट आएका मान्छे छन्। उनले उजुरीउपर अध्ययन गरिरहेको र भोलिसम्ममा निष्कर्षमा पुग्ने बताए ।

