काठमाडौं - सामाजिक सञ्जाल युट्युबमार्फत भ्रामक तथा उत्तेजनात्मक सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार नेपाली खबर टिभि नामक युट्युब च्यानलमार्फत राज्यको विद्यमान परिस्थितिमा प्रत्यक्ष असर पर्ने, अफवाह फैलाउने तथा जातीय र धार्मिक हिंसा भड्काउने उद्देश्यका सामग्री तयार गरी प्रसारण गरेको आरोपमा अर्घाखाँची सन्धिखर्क नगरपालिका–९ स्थायी घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बस्दै आएका ३९ वर्षीय जनक घुसाल पक्राउ परेका हुन्।
ब्यूरोले सामाजिक सञ्जालको निगरानी तथा प्राविधिक विश्लेषणका क्रममा घुसालले कानुनले निषेध गरेका सामग्री प्रकाशन तथा प्रसारण गरेको, विभिन्न जातजाति र समुदायबीचको सामाजिक सद्भाव खल्बल्याउने तथा घृणा फैलाउने खालका भिडियोहरू सार्वजनिक गरेको खुल्न आएको जनाएको छ।
साइबर ब्यूरोले इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा साउन १६ गते उनलाई बुटवलबाट पक्राउ गरेको हो।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

