Harsamaya
यी प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानको आसपास तथा पूर्वी नेपालमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहे पनि देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति पनि देशभर बदली रहने र कोशी, बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानमा पनि वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ। भारी वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएका बस्ती र सडक प्रयोगकर्तालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागले प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत आंशिकदेखि पूर्ण असर पर्न सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update