काठमाडौं - भारतको केरल राज्यमा अविरल वर्षा र पहिरोका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन्। शनिबार बिहानदेखि राज्यका विभिन्न क्षेत्रमा मुसलधारे वर्षा जारी रहेपछि जनजीवन प्रभावित बनेको छ।
केरल सरकारले १४ मध्ये नौ जिल्लामा रेड अलर्ट जारी गरेको छ। लगातारको वर्षा र पम्पा नदीमा आएको बाढीका कारण त्रावणकोर देवासम बोर्डले श्रद्धालुलाई अगस्ट २ र ३ मा सबरीमाला मन्दिरको यात्रा नगर्न आग्रह गरेको छ। यात्रा मार्गमा पहिरोको उच्च जोखिम रहेको चेतावनी पनि दिइएको छ।
केरल राज्य विपद् व्यवस्थापन प्राधिकरणका सचिव शेखर कुरियाकोसका अनुसार पठानमथिट्टा जिल्लाको वडाचेरी क्षेत्रमा तीन–चार घण्टामै ३६१ मिलिमिटर वर्षा र पम्पा क्षेत्रमा करिब २०० मिलिमिटर वर्षा भएको छ, जसका कारण नदी प्रणालीले पानी धान्न नसकेको बताए।
पहिरोका कारण इडुक्कीमा ६ र कोट्टायममा २ जनाको मृत्यु भएको छ। साथै, कोट्टायम र मलप्पुरममा डुबेर दुई–दुई जनाको मृत्यु भएको जनाइएको छ। विजिनजम र मुथलाप्पोझी क्षेत्रबाट दुई–दुई जना बेपत्ता भएका छन्।
विपद्का बीच राज्य सरकारले हालसम्म १ हजार ३३८ जनालाई सुरक्षित उद्धार गरी ६२ वटा राहत शिविरमा राखेको छ। मध्य केरलका प्रभावित क्षेत्रमा १७ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने १२७ घरमा आंशिक क्षति पुगेको छ।
प्रशासनले अचानक बाढी, डुबान, पहिरो, माटो खस्ने जोखिम तथा तीव्र हावाहुरीका कारण रुख, बिजुलीका खम्बा र होर्डिङ बोर्ड ढल्न सक्ने चेतावनी दिँदै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ।

