एजेन्सी - भारतको कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले जुलाइ २० मा प्रदर्शनकारीमाथि भएको प्रहरी लाठीचार्जका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन्।
शनिबार सामाजिक सञ्जाल एक्समा भिडियो सन्देश जारी गर्दै दीपकेले प्रधानमन्त्री मोदीले हालै प्रदर्शनमा सहभागी बालबालिकालाई माफी दिएको भिडियो सार्वजनिक गरेकाले अब प्रहरी दमनका पीडितसँग पनि माफी माग्नुपर्ने बताएका हुन्।
दीपकेले भिडियोमा भनेका छन्, ‘प्रहरीले १२–१२ वर्षका बालिकाहरूको टाउको फुटाइदियो, पुरुष प्रहरीहरूले उनीहरूको लुगा समेत च्यातिदिए। निजी अंगमा समेत लाठी प्रहार गरियो। आज सार्वजनिक हुने भिडियोमा मोदीजीले ती सबै बालिकासँग माफी माग्नुपर्छ।’
यसअघि प्रधानमन्त्री मोदीले इन्स्टाग्राममा भिडियो सन्देश जारी गर्दै जन्तर–मन्तरमा केही बालबालिकाले आफू र आफ्नी आमालाई गाली गरेको उल्लेख गरेका थिए।
मोदीले भनेका थिए, ‘बाल्यकाल गल्ती सुधार्ने अवसर पनि हो। यी भ्रमित बालबालिका हुन्, उनीहरूलाई सही बाटो देखाउने समय हो। म उनीहरूलाई माफी दिन चाहन्छु।’
मोदीको उक्त अभिव्यक्तिपछि अभिजीत दीपकेको प्रतिक्रिया सार्वजनिक भएको हो। जुलाइ २० मा भएको लाठीचार्ज र त्यसमा प्रहरीको भूमिकाबारे भारतमा राजनीतिक बहस जारी छ।

