मकवानपुर - हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोस्ट नजिकबाट प्रहरीले १२.७६० ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ०३–००१ प ४९८६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा पछाडि सवार हेटौंडा–१ चाइनागेटका करिब २८ वर्षीय भीमसेन राजथलाको पर्सबाट १२ ग्राम ७६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला पारेको हो।
घटनामा संलग्न रहेको आरोपमा हेटौंडा–१ चाइनागेटका करिब २५ वर्षीय अर्जुन राजथला, २८ वर्षीय भीमसेन राजथला, ३४ वर्षीय रबिन न्यौपाने तथा हेटौंडा–४ कर्राका करिब २४ वर्षीय सन्देश घोरासाइनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले प्रदेश ०३–००१ प ४९८६ र ना ४४ प ४७८६ नम्बरका दुई मोटरसाइकल, बरामद लागुऔषधसहित चारै जनालाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले थप अनुसन्धान गरिरहेको छ।

