Harsamaya
सुनसरी–सिरहा घटनामा एमालेको सरकारमाथि प्रश्न, संवादबाट समाधान खोज्न आग्रह
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरीको देवानगञ्ज र सिरहामा भएका हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले राज्य पक्षबाट भएको बल प्रयोग, सुनसरीका ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको मृत्यु तथा अन्य नागरिक घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले तत्काल संवादमार्फत समाधान खोज्नुपर्ने माग गरेको छ।

एमालेले जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा हिंसा झन् उग्र बन्दै गएको र विभिन्न स्थानमा गोली लागेर थप नागरिकको ज्यान गएको घटनाले आफूहरू स्तब्ध र मर्माहत भएको उल्लेख गरेको छ। पार्टीले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

एमालेले नागरिकलाई भ्रामक प्रचारको पछि नलाग्न, संयमता अपनाउन तथा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गरेको छ। राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी र सर्वसाधारणलाई शान्ति र सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न पनि आग्रह गरिएको छ।

विज्ञप्तिमा सरकारले राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा पनि उदासीनता देखाएको, अत्यधिक बल प्रयोग गरेको र मौन बसेको भन्दै आलोचना गरिएको छ। हिंसात्मक गतिविधि तत्काल रोक्न र संवादको माध्यमबाट समस्याको समाधान गर्न सरकारसँग माग गरिएको छ।

एमालेले मुलुकको वर्तमान परिस्थितिमा प्रमुख राजनीतिक दलहरूले आरोप–प्रत्यारोपभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्नेमा जोड दिएको छ। साथै राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति स्थापनाका लागि सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक एवं सामाजिक समुदायका अगुवालाई एकजुट हुन आह्वान गरेको छ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update