विराटनगर - मोरङ प्रहरीले अनुसन्धान प्रभावित पार्ने गरी पीडित बालिकाको पहिचान खुल्ने समाचार प्रसारण गरेको आरोपमा एक सञ्चारकर्मीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनवर्षी नगरपालिकामा एक बालिकामाथि भएको सामूहिक जबरजस्ती करणी घटनासम्बन्धी समाचार प्रसारणका क्रममा ‘कोशी आवाज’ नामक अनलाइन मिडियामार्फत सामाजिक सञ्जाल फेसबुकमा पीडित बालिकाका परिवारका सदस्यहरूको वास्तविक परिचय खुल्ने गरी भिडियो समाचार प्रसारण गरिएको थियो।
पीडित पक्षको उजुरीका आधारमा आफूलाई सञ्चारकर्मी बताउने चन्दनकुमार पासवानलाई साउन १३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पासवानलाई पक्राउ गरी म्याद थपसमेत गरेर इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ।
प्रहरीले संवेदनशील प्रकृतिका घटनामा पीडितको गोपनीयता र पहिचान सुरक्षित राख्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई कानुनको पालना गर्न आग्रह गरेको छ।

