काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत काम गरेको भन्दै एक उद्योगलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ भने सात व्यवसायलाई सुधारका लागि निर्देशन दिएको छ।
विभागका अनुसार ललितपुर महानगरपालिका–२, कुपन्डोलस्थित ग्राण्ड बेकिङ हेरिटे लाई उपभोक्ता संरक्षण ऐनको दफा ३८(२)(ङ) बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको हो।
यस्तै, ललितपुर र काठमाडौंका विभिन्न व्यवसायलाई ग्यास वितरण सहज बनाउन, एमआरपी अनिवार्य रूपमा लागू गर्न, बिल–बिजक जारी गर्न, लेबल भएका सामान मात्र बिक्री गर्न, व्यवसाय दर्ता तथा इजाजत नवीकरण गर्न र मापदण्डअनुसार ग्यास बिक्री–वितरण गर्न निर्देशन दिइएको विभागले जनाएको छ।
निर्देशन पाउने व्यवसायमा सिद्धि विनायक श्री गणेश स्टोर, कान्तिपुर इलेक्ट्रिकल सेन्टर, टेली डाइरेक्ट प्रालि, अञ्जली स्टोर, कालिञ्चोक सप्लायर्स, बज्रज हार्डवेयर प्रालि र कञ्चनिया रमेश टायर्स प्रालि रहेका छन्।
विभागले उपभोक्ता संरक्षण ऐन तथा नियमावलीअनुसार बजार अनुगमनलाई निरन्तर प्रभावकारी बनाइने र नियम उल्लंघन गर्ने व्यवसायमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ।

