काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–२, कसानगञ्जमा साउन १० गते भएको घटना तथा त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार जारी प्रेस विज्ञप्तिमा सरकारले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइएको पनि जनाएको छ।
घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ। साथै, पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र दोषीमाथि कडा कानुनी कारबाही गरिने सरकारको प्रतिबद्धता व्यक्त गरिएको छ।
सरकारले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव नहुने स्पष्ट गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ।
यस्तै, अफवाह र भ्रामक सूचनाबाट प्रभावित नहुन तथा सामाजिक र धार्मिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, सञ्चारमाध्यम र आम नागरिकलाई संयमता अपनाउन सरकारको आव्हान छ।

