काठमाडौं - सुनसरीको देवानगञ्जमा भएको झडप र त्यसपछिको तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशअनुसार सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म देवानगञ्जका पाँच संवेदनशील बजार क्षेत्रमा लागू हुने गरी चार किल्लाभित्र आवतजावत, जुलुस, प्रदर्शन, सभा, बैठक तथा पाँच जनाभन्दा बढी मानिस भेला हुन प्रतिबन्ध लगाइएको छ।
निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा विस्तारा बजार, भुटाहा बजार, कप्तानगञ्ज बजार, घुस्की बजार र देवानगञ्ज बजार क्षेत्र रहेका छन्। आदेश उल्लङ्घन गरेमा एक हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने प्रशासनले जनाएको छ।
यस्तै, जिल्ला सुरक्षा समितिको निर्णयअनुसार हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्र र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा पनि आइतबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म अर्को निषेध आदेश लागू गरिएको छ। उक्त अवधिमा एकै स्थानमा पाँच जनाभन्दा बढी मानिस भेला हुन नपाउने व्यवस्था गरिएको छ। आदेश उल्लङ्घन गरेमा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद हुन सक्ने चेतावनी दिइएको छ।
शनिबार राति देवानगञ्ज–३ कप्तानगञ्जमा बोलबम यात्राका क्रममा दुई समूहबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने प्रहरीसहित १८ जना घाइते भएका थिए। सोही घटनापछि सम्भावित अप्रिय अवस्था रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

