काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताको प्रक्रिया सहमतिउन्मुख अवस्थामा पुगेको बताएका छन्। कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग आइतबार भएको भेटमा उनले असन्तुष्ट पक्षसँग संवाद सकारात्मक दिशामा अघि बढिरहेको र छिट्टै सहमतिको खाका तयार हुने बताएका हुन्।
नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाको नेतृत्वमा पुगेको टोलीसँगको छलफलमा सभापति थापाले वर्तमान राजनीतिक चुनौती सामना गर्न पार्टी एकता अपरिहार्य रहेको उल्लेख गर्दै एकतामा असर पर्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका थिए। साथै, साउन १६ गतेका लागि तय गरिएको दबाब अभियानको राष्ट्रिय भेला पनि हाललाई स्थगित गर्न अनुरोध गरेका छन्।
भेटमा सभापति थापाले असन्तुष्ट पक्षसँग सहमति जुटाउन चार सदस्यीय कार्यदल गठनको तयारी भइरहेको जानकारी दिएका छन्। कार्यदलका लागि दुई सदस्यको नाम मागिएको र एक–दुई दिनभित्र कार्यदलले औपचारिक रूप लिने उनले बताएका छन्।
स्थानीय तहका जनप्रतिनिधिहरूले भने पार्टीभित्रको विभाजनले गाउँ–गाउँमा कांग्रेसप्रति जनविश्वास कमजोर बनेको भन्दै तत्काल एकता गरेर कार्यकर्तामा नयाँ उत्साह र आमजनतामा विश्वासको वातावरण सिर्जना गर्नुपर्ने धारणा राखेका थिए।
भेटपछि सहभागी जनप्रतिनिधिहरूले सभापति थापाले कांग्रेस एक हुनेमा आश्वस्त पारेको बताएका छन्। दबाब अभियानका प्रतिनिधिहरूले भने पार्टी एकताको खबरदारी जारी राख्दै आगामी कार्यक्रमबारे थप छलफलपछि निर्णय लिने बताएका छन्।

