काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रका कमजोरी र सफलताका पक्षलाई समग्रतामा हेरेर समीक्षा गर्नुपर्ने बताएका छन् ।
नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले आलोचनाबाट आफूहरू कहाँ सुधार गर्नुपर्ने हो भन्ने कुरा थाहा हुने बताए ।
उनले एमालेप्रति फरक–फरक समूहको दृष्टिकोण रहेको उल्लेख गर्दै भने, ‘हाम्रा मित्रहरूले हामीलाई कम्युनिष्ट देख्नुभएन । पूँजीवादी साम्राज्यवादीहरूले भने हामीलाई धेरै कम्युनिष्ट ठानेर भदौ २३ र २४ गते सडकमा पछार्ने काम गरे ।’
पोखरेलले आफूहरू एक पक्षका लागि कम्युनिष्ट हुन नसकेको र अर्को पक्षका लागि कम्युनिष्ट भएकै कारण पीडित भएको टिप्पणी गरे । उनले कमजोरीबाट कोही पनि मुक्त नरहेको भन्दै एमालेभित्र कमजोरी भएपनि सफलताका सबल पक्षहरू रहेको दाबी गरे ।
‘मूल्यांकन गर्ने विषय आफैंबीचको विषय हो । सबै चिजलाई समग्रतामा हेर्नुपर्छ, कमजोरीबाट मुक्त कोही पनि छैनन् । हामीभित्र पनि कमजोरी छन्, तर हामीभित्र पनि सफलताका सबल पक्षहरु पनि छन् त्यसैको मार खेपिराखेका छौं । केही हुँदैन थियो भने शत्रुहरु पनि हुँदैन थिए होला,’ पोखरेलले भने ।
महासचिव पोखरेलले एमाले अहिले पनि प्रहारको निशानामा रहेको दाबी गर्दै पार्टीको अस्तित्व र भविष्यमाथि चुनौती खडा गर्ने प्रयास भइरहेको बताए ।
‘हामी अहिले पनि प्रहारको निशानामै छौं, प्रहार भइरहेकै छ । यस्तो अवस्थामा पुगेका छौं कि हाम्रो अस्तित्वमाथि र भविष्यमाथि नै चुनौती खडा गर्ने काम भइरहेको छ,’ उनले भने ।
उनले पूँजीवादी र साम्राज्यवादी शक्तिका लागि आफूहरू समस्या नभए प्रहार किन भइरहेको छ भन्ने विषयमा वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए ।

