Harsamaya
एमाले–नेकपाबीच सातै प्रदेशमा सरकार गठनका लागि सहमति
नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच सातै प्रदेशमा सरकार गठन तथा सहकार्य गर्ने विषयमा सहमति ।

काठमाडौं - नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच सातै प्रदेशमा सरकार गठन तथा सहकार्य गर्ने विषयमा सहमति भएको छ।

शनिबार भएको सहमतिअनुसार पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेटविहीन अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाका कारण उत्पन्न समस्या समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले दुई दल सहमतिमा पुगेका हुन्।

सहमति पत्रमा भनिएको छ, ‘पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्यालाई समाधान गर्दै जनताको चाहनाअनुरूप राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन हामी दुई राजनीतिक दलहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी सहमतिमा पुगेका छौं।’

सहमतिअनुसार प्रदेश सभामा संयुक्त रूपमा सहकार्य गर्दै संयुक्त सरकार गठन गरिनेछ । कोशी, बागमती र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने सहमति भएको छ ।

त्यस्तै, मधेश प्रदेश र गण्डकी प्रदेशमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने उल्लेख गरिएको छ।

प्रकाशित मिति: शनिबार, साउन ९, २०८३  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update