Harsamaya
सिराहामा प्रहरीमाथि आक्रमणपछि गोली चल्यो, खैरो हेरोइनसहित ६ जना पक्राउ
बरामद गरिएको खैरो हिरोइन र मोबाइल ।

काठमाडौं - सिराहाको लहानमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन्। घटनामा २४३ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ खैरो हेरोइन ओसारपसार तथा बिक्री–वितरणमा संलग्न रहेको सूचनाका आधारमा सिराहाको लहान नगरपालिका–३ अस्पताल चोक क्षेत्रमा निगरानी गरिरहेको थियो।

सो क्रममा लागुऔषध कारोबार गरिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरी टोलीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। आत्मरक्षाका लागि प्रहरीले सुरुमा पाँच राउन्ड हवाई फायर गरी चेतावनी दिएको थियो। त्यसपछि पनि नअटेरेपछि प्रहरीले गोली चलाउँदा भारत, बिहारका २२ वर्षीय विद्यानन्द यादवको दाहिने खुट्टा र सप्तरीको रुपनी गाउँपालिका–१ का ४० वर्षीय मो. नसिरको बायाँ खुट्टामा गोली लागेको छ।

घाइते दुवैजनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, लहान पठाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने अन्यमा सप्तरीको बोदेबरसाइन गाउँपालिका–२ का शम्भुप्रसाद यादव, डाक्नेश्वरी नगरपालिका–२ का मो. जमालहर आलम, बोदेबरसाइन गाउँपालिका–२ का बैद्यनाथ प्रसाद यादव र डाक्नेश्वरी नगरपालिका–२ का मो. इमामुदिन रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट २४३ ग्राम खैरो हेरोइन, दुई वटा मोटरसाइकल र सात थान मोबाइल बरामद गरेको जनाएको छ।

घाइते दुई जनाको उपचार भइरहेको तथा पक्राउ परेका अन्य चार जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update