चितवन- बर्डफ्लुको प्रभावका कारण घटेको अण्डाको मूल्य फेरि बढ्न थालेको छ। उत्पादन घट्नु र बजारमा माग बढ्नुका कारण मूल्यमा वृद्धि भएको हो।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अनुसार आजदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ४५० रुपैयाँबाट ५०० रुपैयाँ, मध्यम अण्डाको ४२० रुपैयाँबाट ४७० रुपैयाँ र सानो अण्डाको ४१५ रुपैयाँ कायम गरिएको छ। सबै वर्गका अण्डामा प्रतिक्रेट ५० रुपैयाँ वृद्धि गरिएको हो।
सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुका कारण दैनिक अण्डा उत्पादन करिब ४५ लाखबाट घटेर २८ लाख गोटामा सीमित भएको छ। माग बढेसँगै मूल्यमा सुधार देखिए पनि किसानले अझै उत्पादन लागत उठाउन सकेका छैनन्।
हाल एक क्रेट अण्डा उत्पादन गर्न ५७३ रुपैयाँ ६० पैसा लागत लाग्ने भए पनि बजार मूल्य त्यसभन्दा कम रहेको अध्यक्ष पोखरेलले बताउनुभयो। बर्डफ्लुबाट प्रभावित किसानलाई राज्यले राहत उपलब्ध गराउनुपर्ने उहाँको माग छ।

