Harsamaya
चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। बागमती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा अहिले नै मध्यम वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो र राति पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने जनाएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले विभागको पछिल्लो मौसम सूचना नियमित रूपमा पछ्याउन अनुरोध गरिएको छ।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  ०६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update