Harsamaya
नयाँ राजनीतिक समीकरण बन्न सक्ने प्रचण्डको संकेत, एमालेसँगको सहकार्य औपचारिक चरणमा 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

जनकपुरधाम - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत दिएका छन्।

उनले वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको र नेकपा तथा नेकपा (एमाले)बीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको बताएका छन्।

मंगलबार साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले तीन दलबीचको समझदारी अन्तिम निष्कर्षमा भने पुगिनसकेको स्पष्ट पारे। उनले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल भइरहेको जानकारी दिए।

प्रचण्डले अहिले पार्टी संगठन सुदृढीकरण र कार्यकर्ता प्रशिक्षणलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै त्यसकै सिलसिलामा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएको बताए।

बुधबार हुने प्रशिक्षण कार्यक्रममा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रचण्डको यस अभिव्यक्तिलाई पछिल्लो राजनीतिक ध्रुवीकरण र सम्भावित सत्ता समीकरणसँग जोडेर हेरिएको छ।

एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको र कांग्रेससँग पनि सत्ता साझेदारीबारे संवाद भइरहेको उनको भनाइले आगामी राजनीतिक समीकरणबारे नयाँ चर्चा सुरु भएको छ।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update