काठमाडौं - नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संस्था, स्वतन्त्र न्यायपालिका र संवैधानिक निकायमाथि दबाब सिर्जना गर्ने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। जननायक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा मंगलबार सन्देश जारी गर्दै उनले बीपीले अघि सारेको राष्ट्रिय मेलमिलाप, लोकतन्त्र, राष्ट्रियता र समाजवादको विचार आज पनि मुलुकका लागि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।
देउवाले बीपीको नेतृत्वमा आफ्नो राजनीतिक यात्रा सुरु गर्न पाएको अवसर जीवनकै सबैभन्दा ठूलो सौभाग्य भएको उल्लेख गर्दै आफूले पाएको राजनीतिक संस्कार, जिम्मेवारी र लोकतान्त्रिक मूल्य–मान्यताले आफ्नो सम्पूर्ण राजनीतिक जीवनलाई मार्गनिर्देशन गरेको बताएका छन्। उनले प्रजातन्त्रभन्दा ठूलो कुनै विकल्प नहुने र जनताको अधिकारभन्दा ठूलो कुनै शक्ति नहुने आफ्नो अडान कहिल्यै नबदलेको पनि उल्लेख गरेका छन्।
सन्देशमा उनले नेपाली कांग्रेसले विगत सात दशकभन्दा बढी समयदेखि निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिविरुद्ध संघर्ष गर्दै आएको स्मरण गराएका छन्। जेल, प्रतिबन्ध, राजनीतिक दमन र कठिन परिस्थितिबीच पनि कांग्रेस लोकतन्त्र, संविधानवाद र नागरिक अधिकारको पक्षमा दृढतापूर्वक उभिएको भन्दै शान्ति प्रक्रिया, संविधान निर्माण, विनाशकारी भूकम्पपछिको पुनर्निर्माण तथा कोभिड–१९ महामारीका चुनौती सामना गर्न कांग्रेसले खेलेको भूमिकालाई पनि उनले स्मरण गरेका छन्।
पछिल्ला केही महिनादेखि स्वास्थ्य उपचारका सिलसिलामा परिवारसहित विदेशमा रहे पनि आफ्नो मन, सोच र चिन्ता निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको उल्लेख गर्दै देउवाले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक नियालिरहेको बताएका छन्। फरक विचार राख्नेप्रति असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन तथा भौतिक र मनोवैज्ञानिक त्रास सिर्जना गर्ने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि कुनै पनि हिसाबले स्वीकार्य हुन नसक्ने उनको भनाइ छ।
उनले लोकतन्त्र भनेको जनताको सामूहिक आत्मनिर्णयको अधिकार भएको उल्लेख गर्दै जनमत नै राष्ट्रको भविष्य निर्धारण गर्ने सर्वोच्च शक्ति भएको बताएका छन्। लोकतन्त्र कमजोर हुँदा राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्तामाथि पनि दीर्घकालीन असर पर्ने भएकाले यसको रक्षा सबैको साझा दायित्व भएको उनको भनाइ छ।
देउवाले पछिल्लो समय स्वतन्त्र न्यायपालिका, संवैधानिक संस्थाहरू तथा लोकतान्त्रिक प्रणालीमाथि दबाब सिर्जना गर्ने संकेत देखिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संस्थालाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतंकित गर्ने औजार बनाउने प्रयास भइरहेको दाबी गर्दै उनले यस्तो अवस्थामा नेपाली कांग्रेसमाथि लोकतन्त्र, संविधान, राष्ट्रियता र आमजनतामा सुरक्षा अनुभूति कायम राख्ने ऐतिहासिक जिम्मेवारी थपिएको बताएका छन्।
उनले बीपी कोइरालाले २०३३ सालमा अघि सारेको राष्ट्रिय मेलमिलापको नीति आज पनि मुलुकका लागि मार्गदर्शक रहेको उल्लेख गरेका छन्। राष्ट्र, लोकतन्त्र र राष्ट्रिय एकतालाई व्यक्तिगत सुरक्षा र राजनीतिक स्वार्थभन्दा माथि राख्ने बीपीको दृष्टिकोण वर्तमान चुनौती समाधानको आधार भएको उनको भनाइ छ। समानता, सामाजिक न्याय, समावेशिता, आर्थिक समृद्धि र अवसरको समान पहुँच नेपाली कांग्रेसको मूल एजेन्डा मात्र नभई राष्ट्र निर्माणको आधार पनि भएको उनले बताएका छन्।
देशलाई विभाजन होइन, एकता चाहिएको, अविश्वास होइन विश्वास चाहिएको र प्रतिशोध होइन सहकार्य आवश्यक रहेको उल्लेख गर्दै देउवाले इतिहासबाट प्राप्त अनुभव, नयाँ पुस्ताको ऊर्जा र सिर्जनशीलतालाई जोडेर राष्ट्रिय संवाद र साझा सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। प्रतिशोध र निषेधको राजनीतिभन्दा माथि उठेर साझा भविष्य निर्माण गर्नु आजको आवश्यकता भएको उनको निष्कर्ष छ।
सन्देशको अन्त्यमा देउवाले नेपाली कांग्रेस लोकतन्त्र, राष्ट्रियता, न्यायपालिका, संविधानवाद र समाजवादप्रतिको आफ्नो प्रतिबद्धतामा अडिग रहेको उल्लेख गर्दै नागरिक समाज, युवा पुस्ता तथा सम्पूर्ण नेपाली जनतासँग विश्वास, समर्पण र साझा संकल्पका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

