Harsamaya
केही स्थानमा भारी वर्षाको चेतावनी
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

महाशाखाका अनुसार हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ भने पहाडी क्षेत्रका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन–चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा वा हिमपातको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update