काठमाडौं - लागुऔषध नियन्त्रण ब्युरोले सिलिकनमा मिसाएर कपडाको आकारमा तयार पारिएको ४ किलो २५८ ग्राम कोकिनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ।
ब्युरोका अनुसार कतार एयरवेजको उडानमार्फत कोलम्बियाबाट दोहा हुँदै काठमाडौं आएकी ६२ वर्षीया कोलम्बियन नागरिक योनाथ गार्जोन काइसेडोलाई ठमेलबाट पक्राउ गरिएको हो।
उनको साथमा रहेको सुटकेसको फल्स बटमभित्र ब्ल्याङ्केट, म्याट, ज्याकेट, एप्रोन र नेक पिलोमा सिलिकनसँग मिसाएर कपडाको आकारमा बनाइएको कोकिन फेला परेको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धानका क्रममा उक्त कोकिन बुझ्न भारतको मणिपुरबाट काठमाडौं आएकी ३७ वर्षीया भारतीय नागरिक रेबेका पुल्लेलाई पनि पक्राउ गरिएको छ।
प्रहरीका अनुसार हालसम्म नेपालमा कोकिन तस्करीका विभिन्न शैली देखिए पनि सिलिकनमा मिसाएर कपडाको आकारमा तयार पारिएको कोकिन बरामद भएको यो पहिलो घटना हो। ब्युरोले यसलाई अन्तर्राष्ट्रिय लागुऔषध तस्करीको नयाँ प्रवृत्तिका रूपमा लिँदै थप अनुसन्धान अघि बढाएको जनाएको छ।

