Harsamaya
अधिकांश जिल्लामा वर्षा 
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - देशभर मनसुन सक्रिय रहेकाले अधिकांश जिल्लामा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

विभागका अनुसार मनसुनी वायुको प्रभाव कायम रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशका धेरै जिल्लामा वर्षा भइरहेको हो।

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी र सुदूरपश्चिमका पहाडी तथा तराईका केही स्थान, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

आज राति पनि मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान र कर्णाली तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update