काठमाडौं - नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउन ६ गते जननायक बिपी कोइरालाको ४४औँ स्मृति दिवस छुट्टै कार्यक्रम गरेर मनाउने भएको छ।
कमलादीस्थित प्रज्ञा भवनमा हुने कार्यक्रमका लागि पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ। आवश्यकताअनुसार प्रचारप्रसार, व्यवस्थापनलगायतका अन्य समिति पनि बनाइने जनाइएको छ।
पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको संस्थापन इतर पक्षको बैठकले उक्त निर्णय गरेको हो। समूहले पार्टी एकताका लागि आफूहरूले निरन्तर प्रयास गरिरहेको दाबी गर्दै आयोग र अदालतबाट मान्यता पाएको पक्षसँग औपचारिक वार्ता वा ठोस प्रस्ताव आदानप्रदान नभएको स्पष्ट पारेको छ।
संस्थापन इतरले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टी एकताका लागि कुनै सार्थक पहल नगरेको आरोप पनि लगाएको छ।
यस्तै, पार्टीको भावी कार्यदिशाबारे छलफल गर्न साउनभित्रै काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय भएको छ। उक्त भेलाको मिति, समय र स्थान बिपी स्मृति दिवसकै कार्यक्रममा सार्वजनिक गरिने जनाइएको छ।
साथै, देशभर बाढी, पहिरो र डुबानको जोखिम बढिरहेका बेला सरकारले उद्धार, राहत र क्षतिपूर्तिमा प्रभावकारी व्यवस्था गर्नुपर्ने भन्दै सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन पनि अपिल गरिएको छ।

