काठमाडौं - भारतका वातावरणविद् तथा सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि दिल्ली प्रहरीले अस्पताल भर्ना गरेको छ।
वाङ्चुक २८ जुनदेखि एनइइटी, सिबिएसई, सियुइटी र एसएससीजस्ता परीक्षामा प्रश्नपत्र चुहावटको विरोध गर्दै तथा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आमरण अनशनमा बसेका थिए। स्वास्थ्यमा लगातार गिरावट आएपछि अदालतको आदेश र चिकित्सकको सिफारिसअनुसार उनलाई जन्तर–मन्तरबाट अस्पताल लगिएको हो।
अस्पताल भर्ना हुनुअघि सार्वजनिक भिडियो सन्देशमा वाङ्चुकले आफ्नो तौल करिब २० प्रतिशत घटेको, मांसपेशीसमेत प्रभावित हुन थालेको तर मानसिक रूपमा आफू अझै दृढ रहेको बताएका छन्।
उनले जुलाई २० मा आयोजना हुने ‘चलो संसद’ मार्चमा ठूलो संख्यामा सहभागी हुन देशवासीलाई आह्वान गर्दै शिक्षा प्रणालीमा देखिएको अनियमितताबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन्।
चिकित्सकहरूका अनुसार लामो समयदेखि भोजन नगरेका कारण वाङ्चुकको स्वास्थ्य निरन्तर कमजोर बन्दै गएको छ। आन्दोलनलाई विभिन्न नागरिक संस्था र विपक्षी राजनीतिक नेताहरूले पनि समर्थन जनाएका छन्।

