काठमाडौं - काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज र भोलि उपत्यकामा अति भारी वर्षाको सम्भावना रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानलाई आधार मान्दै प्रशासनले काठमाडौं उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा निर्गमन मार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारीका चालक, सहचालक तथा यात्रुलाई सतर्क रहन अनुरोध गरेको हो।
प्रशासनले सकेसम्म रातिको यात्रा नगर्न, अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्नुपर्ने भए मौसमको अवस्था नियमित रूपमा बुझ्न तथा सडकको अवस्थाबारे स्थानीय प्रशासनसँग जानकारी लिएर मात्रै सवारी सञ्चालन गर्न आग्रह गरेको छ।
मनसुन सक्रिय रहेकाले बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै प्रशासनले सबैलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

