Harsamaya

काठमाडौं - मण्डला थिएटर नेपालले ‘मण्डला ड्रामा स्कूल’ को तेस्रो ब्याचका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा आवासीय नाट्य प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित ‘रंग’ परियोजना अन्तर्गत १८ महिने आवासीय नाट्य प्रशिक्षणको सुरुवात शुक्रबार गरिएको हो ।

तेस्रो ब्याचका लागि देशभरबाट १३० भन्दा बढी आवेदनहरू आएका थिए। तीमध्येबाट ३४ जनालाई सर्टलिस्ट गरेर डेढ महिना लामो छनोट कार्यशाला सञ्चालन गरिएको मण्डला थिएटर नेपालका अध्यक्ष बुद्धिराम तामाङले जानकारी दिए । कार्यशालामा उनीहरूको सिकाइ, अवलोकन र आत्मचिन्तनको परीक्षण गरिएको थियो । ‍छनोट समितिको जुरीमा मण्डलाका अध्यक्ष  तामाङ र रंगकर्मी पशुपति राई रहेका थिए । 

समावेशीकरणलाई प्राथमिकता दिँदै अन्तिममा १५ जनाको छनोट गरिएको थियो । सर्टलिस्टेड उम्मेदवारहरूमध्ये २९ प्रतिशत महिला, ६४ प्रतिशत पुरुष र करिब ६ प्रतिशत इन्टरसेक्स समुदायका रहेका थिए । छनोट भएका १५ जना युवाहरूले सातै प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।

मण्डला ड्रामा स्कूलका कार्यकारी निर्देशक सोमनाथ खनालले लामो र कठिन चुनौती पार गर्दै रंगमञ्चमा भविष्य खोज्दै आएका १५ जना विद्यार्थीहरू संस्थाका लागि अत्यन्तै महत्वपूर्ण र अमूल्य रहेको बताए । छनोट प्रक्रियाका चुनौतीहरूबारे कुरा राख्दै निर्देशक खनालले भने ‘छनोट प्रक्रियाको सबैभन्दा ठूलो चुनौती 'कमिटमेन्ट' थियो । अन्तिम चरणसम्म आइपुग्दा पनि धेरैले पारिवारिक र सामाजिक दबाबका कारण हात झिक्नुभयो । त्यसैले सबै चुनौती पार गरेर यहाँ आइपुगेका यी १५ विद्यार्थी हाम्रो लागि अत्यन्त महत्वपूर्ण छन् ।’

कार्यक्रमकी प्रमुख अतिथि नेपालका लागि युरोपियन युनियनकी राजदूत महामहिम भेरोनिक लोरेन्जोले मण्डला थिएटरको प्रयासको उच्च प्रशंसा गर्दै कला, संस्कृति र रंगमञ्चलाई समाज रूपान्तरणको सबैभन्दा शक्तिशाली माध्यमका रूपमा व्याख्या गरिन् । आफ्नो कार्यकालको अन्तिम हप्ताहरूमा रहेकी राजदूत लोरेन्जोले भावुक हुँदै भनिन्, ‘नेपाल मेरो मुटुमा सधैँ रहनेछ । मलाई विश्वास छ, यो १८ महिनाको अवधि तपाईंहरूका लागि केवल एउटा कोर्ष मात्र हुने छैन, बरु यो तपाईंहरूको जीवनलाई नै पूर्ण रूपमा बदलिदिने एउटा रूपान्तरणकारी अनुभव बन्नेछ । यसले तपाईंहरूलाई सशक्त बनाउनेछ ।’

नेपाल जस्तो विविधतायुक्त मुलुकमा अझै गरिबी, सामाजिक विभेद र अनगिन्ती चुनौतीहरू रहेको औंल्याउँदै उनले कला र सिर्जनशीलतालाई समावेशी, न्यायपूर्ण र सहिष्णु समाज निर्माणको माध्यमका रूपमा प्रयोग गर्न आग्रह गरिन् । उनले युरोपियन युनियनले नेपालमा विशेष प्राथमिकतामा राखेका तीन प्रदेशहरू सुदूरपश्चिम, कर्णाली र मधेशका युवाहरूको प्रतिनिधित्व यस ब्याचमा हुनु सराहनीय रहेको समेत उल्लेख गरिन् । राजदूत लोरेन्जोले प्रशिक्षार्थीहरूको दीक्षान्तको समयमा उनीहरूले तयार पारेको नाटक हेर्न आफू पुनः नेपाल आउने वाचा समेत गरिन् ।

मण्डला ड्रामा स्कूलले तेस्रो ब्याचका लागि तय गरेको १८ महिने आवासीय पाठ्यक्रम पूर्ण रूपमा अभ्यास र समुदायसँगको सहकार्यमा आधारित छ । तीन सेमेस्टरमा विभाजित यस पाठ्यक्रमभित्र प्रशिक्षार्थीहरूले ‘लर्निङ थ्रु डुइङ’ विधिमार्फत अभिनय, शारीरिक तथा कलात्मक प्रशिक्षण, सहभागितामूलक एवं सामुदायिक रंगमञ्च, सिर्जनात्मक लेखन, प्राविधिक रंगमञ्च, अन्तरविषयक कला अभ्यास, सडक नाटक, कचहरी नाटक, फोरम थिएटर र डकुमेन्ट्री थिएटर जस्ता विधाहरू सिक्नेछन् ।

१८ महिनाको अवधि सकिएपछि प्रशिक्षार्थीहरू आ-आफ्नो प्रदेशमा फर्किनेछन् र त्यहाँका स्थानीय समुदायसँग मिलेर नयाँ नाटकहरू निर्माण गर्नेछन् । उनीहरूले निर्माण गरेका ती प्रादेशिक नाटकहरू सन् २०२८ को अन्त्यमा आयोजना हुने ‘चौथो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ (निटफेष्ट २०२८) मा प्रदर्शन गरिने रणनीतिक योजना मण्डलाले तय गरेको छ ।

मण्डला थिएटर नेपालका अध्यक्ष तामाङको अध्यक्षतामा भएको समारोहमा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरू, विश्वविद्यालयका प्राध्यापकहरू, विकास साझेदार संस्थाका प्रतिनिधिहरू तथा नेपाली रंगमञ्च क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा पूर्व साझेदार संस्था जिआइजेडका प्रतिनिधिले अघिल्ला दुई ब्याचहरूसँगको सफल सहकार्यको स्मरण गर्दै दीर्घकालीन नाट्य शिक्षाले युवाहरूको क्षमता विकासमा खेलेको भूमिकामाथि प्रकाश पारेका थिए । 

सोही अवसरमा ‘मण्डला एलुम्नाई सर्कल’ (पूर्व विद्यार्थीहरू) द्वारा नयाँ ब्याचको स्वागतमा नाट्य प्रस्तुति समेत प्रदर्शन गरिएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष तामाङले युरोपियन युनियन, पूर्व साझेदार जिआइजेड, परियोजनाका साझेदार संस्थाहरू ‘डिबेट नेटवर्क नेपाल’ र ‘क्याम्पेन फर चेन्ज’ लगायत सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गरे । 

प्रकाशित मिति: शनिबार, साउन २, २०८३  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update