Harsamaya
श्रीमतीको हत्या गरी फरार रहेका दुई श्रीमान पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

चौतारा - सिन्धुपाल्चोक प्रहरीले श्रीमतीको हत्या गरी फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै फरार अभियुक्तहरूलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको जनाएको हो।

प्रहरीका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडा तल्लो भण्डारी टोलका ४३ वर्षीय मीनबहादुर भण्डारीले आफ्नी ४० वर्षीया श्रीमती मीना राना मगरको हत्या गरी फरार भएका थिए। 

निरन्तर खोजतलास तथा प्राविधिक विश्लेषणका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मेलम्चीको संयुक्त टोलीले उनलाई मेलम्ची नगरपालिका–११ मेलम्ची बजारबाट पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, बलेफी गाउँपालिका–८ स्याउनेसाइडका ५५ वर्षीय सोमबहादुर तामाङले आफ्नी ५४ वर्षीया श्रीमती धनमाया तामाङलाई फलामको रडले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। उपचारका क्रममा उनको नेपाल मेडिकल कलेज, जोरपाटीमा मृत्यु भएपछि फरार रहेका सोमबहादुरलाई बाह्रबिसे प्रहरी र वृत्त बौद्ध, काठमाडौंको संयुक्त टोलीले सोही अस्पतालबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

दुवै अभियुक्तविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update