Harsamaya
देशभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षाको चेतावनी
जल तथा मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौं - देशभर मनसुनको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी दिँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार आज पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान, मधेस र कोशीका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भूभाग, कोशी, बागमती, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्र तथा लुम्बिनीको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम भएका स्थानका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै सडक र हवाई यातायात, कृषि, पर्यटन तथा दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने चेतावनी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update