Harsamaya
विवेक मण्डलको परिवारसँग मधेशका गृहमन्त्री महतोको भेट
मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका स्वर्गीय विवेक मण्डलको परिवारसँग भेट गरेका छन् ।

सर्लाही - मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका स्वर्गीय विवेक मण्डलको परिवारसँग भेट गरेका छन् । मन्त्री महतोले मंगलबार साँझ मण्डलको निवासमा पुगेर शोकसन्तप्त परिवारसँग भेटघाट गरेका हुन् ।

उनले विवेकको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनलाई धैर्य धारण गर्न आग्रह गरे । साथै, यस दुःखद घडीमा प्रदेश सरकार परिवारको साथमा रहने र आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै मन्त्री महतोले विवेककी श्रीमतीलाई प्रदेश सरकारमार्फत रोजगारी उपलब्ध गराउने बताए । आफ्नै क्षेत्रका नागरिकको पीडामा सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइने बताए ।

विवेक मण्डलले गत शुक्रबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका थिए। शरीरको ८५ प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार राति करिब २ बजे उनको निधन भएको थियो ।

विवेकको निधनसँगै परिवार गम्भीर आर्थिक संकटमा परेको छ । परिवारमा उनकी श्रीमती, एक छोरा र एक छोरी छन् । परिवारका अनुसार गाउँघर तथा बैंकबाट लिएको गरी करिब ३५ लाख रुपैयाँ ऋण अझै तिर्न बाँकी छ । उनका दाई बैदेशिक रोजगारीका लागि कतारमा छन् ।

यसैबिच, गोडैता नगरपालिकाले मण्डल परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । नगर प्रमुख देबेन्द्र यादवले तत्काल २५ हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको र नगरपालिकाको खाता सञ्चालनमा आएपछि बाँकी ७५ हजार रुपैयाँ उपलब्ध गराइने जानकारी दिए ।

उनले आर्थिक संकटमा परेको परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गर्ने निर्णय गरिएको बताए । मण्डलको निधनपछि प्रदेश सरकार र स्थानीय तहबाट सहयोगको प्रतिबद्धता आएसँगै परिवारले दीर्घकालीन आर्थिक सहयोग, रोजगारी तथा ऋण व्यवस्थापनमा समेत राज्यको साथको अपेक्षा गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  ०७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update