Harsamaya
मलद्वारमा लुकाएर ल्याएको २६.५१ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

मोरङ - मोरङको रंगेली नगरपालिका–६ पुरानो भन्सार टोलबाट भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई २६.५१ ग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–१ घर भई मोरङको पथरीशनिश्चरे नगरपालिका–१ बस्ने २३ वर्षीय सम्योक वानेम फागो र २० वर्षीया भूमिका फागो रहेका छन्।

संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा दुवैले मलद्वारमा लुकाइछिपाइ राखेको कालो प्लास्टिकको पोका बरामद गरेको थियो। सम्योकको साथबाट १५ ग्राम ४४ मिलिग्राम र भूमिकाको साथबाट ११ ग्राम ०७ मिलिग्राम गरी कुल २६.५१ ग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्युरो, विराटनगर शाखाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  २१:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update