काठमाडौं - काठमाडौंको बौद्धस्थित खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट गरेको घटना सार्वजनिक भएपछि शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले चासो देखाएको छ।
सामाजिक सञ्जालमा कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीलाई शिक्षिका सोना रानाले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार पीडित विद्यार्थी, विद्यालयका सञ्चालक र प्रधानाध्यापकलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन्।
मन्त्री पोखरेलले पीडित विद्यार्थीसँग छुट्टै भेट गरी घटनाबारे जानकारी लिएका थिए। उनले विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गर्दै अध्ययन र खेलकुदमा निरन्तर अघि बढ्न हौसला दिएका छन्।
छलफलका क्रममा मन्त्री पोखरेलले आवश्यक परे कानुनी प्रक्रियामा मन्त्रालयले सहजीकरण गर्ने विश्वास दिलाएका छन्। साथै, घटनाले विद्यार्थीमा थप मनोवैज्ञानिक असर नपर्ने गरी आवश्यक संवेदनशीलता अपनाउन विद्यालयलाई निर्देशन दिएका छन्।
यस्तै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन शिक्षकहरूलाई आवश्यक तालिमको व्यवस्था गर्न र विद्यालयमा बालमैत्री वातावरण सुनिश्चित गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
विद्यालयका प्रधानाध्यापक सुनिल रानाका अनुसार कुटपिटमा संलग्न शिक्षिका सोना रानालाई गत जेठमै विद्यालयबाट निष्कासन गरिएको छ। मन्त्रालयका अनुसार घटना करिब एक वर्षअघिको भए पनि हाल भिडियो सार्वजनिक भएपछि यस्ता घटना दोहोरिन नदिन आवश्यक पहल गरिएको हो।

