काठमाडौं - जल तथा मौसम विज्ञान विभागले आज देशका ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको भन्दै नदी किनार तथा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाहीलगायत ३९ जिल्लामा बग्ने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढी आउने जोखिम रहेको छ।
यस्तै, गोरखा, लमजुङ, नवलपरासी (पूर्व र पश्चिम), पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया र कैलालीका साना नदीमा पनि मध्यम तहको आकस्मिक बाढीको जोखिम रहेको विभागले जनाएको छ।
चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेतका साना नदी तथा खोलामा समेत आकस्मिक बाढी आउन सक्ने सम्भावना औँल्याइएको छ।
बाढीविद् विनोद पराजुलीका अनुसार बुधबार र बिहीबारसम्म देशका सातै प्रदेशका साना नदी तथा खोलाको बहाव थप बढ्न सक्ने भएकाले नदी किनार, तटीय बस्ती, कमजोर भू–भाग र पहिरो जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन आवश्यक छ।
विभागले वर्षायामको सक्रिय अवस्थालाई ध्यानमा राख्दै अनावश्यक रूपमा नदी, खोला तर्न नजान, जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी हुने सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

