Harsamaya
कैद भुक्तान गरी धरौटीमा छुटेका मनिष फेरि खैरो हेरोइनसहित पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - लागुऔषध सप्लाई गर्ने गिरोहविरुद्ध कारबाही तीव्र बनाएको लागुऔषध नियन्त्रण ब्युरोले ३०० ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

ब्युरोको कोटेश्वरबाट खटिएको टोलीले असार २७ गते भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१, लोकन्थलीबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–३ का २७ वर्षीय मनिष श्रेष्ठ, २९ वर्षीय रोहित महर्जन र काठमाडौं महानगरपालिका–१६ का २० वर्षीय सम्भव बस्नेत रहेका छन्।

प्रहरीका अनुसार मनिष श्रेष्ठ यसअघि पनि लागुऔषध मुद्दामा पक्राउ परेका थिए। उनले ७ महिना कैद भुक्तान गरी एक लाख रुपैयाँ धरौटीमा छुटेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन, प्रदेश–३–०२–००८ प ५३७८ नम्बरको स्कुटर र तीन थान मोबाइल फोन बरामद गरेको छ। ब्युरोले लागुऔषध आपूर्ति गर्ने सञ्जालबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update