Harsamaya
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि १० जना बिचौलिया पक्राउ 
सांकेतिक तस्वीर: हर समय/Har Samaya

धरान - बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलमा पठाई महँगो मूल्यमा औषधि बिक्री गराउने र बिचौलियाको काम गर्ने गिरोहविरुद्ध प्रहरीले कारबाही थालेको छ। यस क्रममा १० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीका अनुसार बिरामीलाई प्रतिष्ठानभित्र उपचार र औषधि सहज रूपमा उपलब्ध हुँदाहुँदै बाहिरका निजी मेडिकलमा लैजाने, कमिसनका आधारमा औषधि किनाउन लगाउने तथा बिरामी र आफन्तलाई भ्रममा पार्ने गतिविधि भइरहेको सूचनाका आधारमा मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि निगरानी गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट घोपाको संयुक्त टोलीले शंकास्पद गतिविधिमा संलग्न १० जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सुनसरी, मोरङ, सप्तरी, भोजपुर, उदयपुर र धनुषाका विभिन्न स्थानका व्यक्तिहरू रहेका छन्। उनीहरू लामो समयदेखि प्रतिष्ठान परिसरमा बिरामीलाई पछ्याउने, निजी मेडिकलमा लैजाने र औषधि खरिदमा प्रभाव पार्ने काममा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीले अस्पतालमा उपचारका लागि आउने बिरामी तथा आफन्तलाई अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न, चिकित्सक वा अस्पताल प्रशासनले सिफारिस नगरेका व्यक्ति वा संस्थाको भर नपर्न आग्रह गरेको छ। यस्ता बिचौलियाको गतिविधिबारे जानकारी भए तत्काल प्रहरीलाई सूचना दिन पनि अनुरोध गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा हुने बिचौलियाको गतिविधि नियन्त्रण गर्न निगरानी र कारबाहीलाई आगामी दिनमा अझ कडाइका साथ निरन्तरता दिइनेछ।

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update