Harsamaya
उपत्यकामा बर्डफ्लु अझै नियन्त्रणबाहिर, काभ्रेमा सङ्क्रमण तीव्र
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - देशका अधिकांश जिल्लाबाट बर्डफ्लु नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा भने सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन। विशेषगरी काभ्रेमा रोग तीव्र रूपमा फैलिरहेकाले जोखिम कायमै रहेको पशु सेवा विभागले जनाएको छ।

विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायत जिल्लामा सङ्क्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा अझै संक्रमित फर्म भेटिइरहेका छन्।

सङ्क्रमण रोक्न हालसम्म देशभर ७ लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा र २ लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिएको छ।

तीमध्ये काठमाडौं उपत्यका र काभ्रेमा मात्रै २ लाख ८६ हजार २७७ पन्छी, १ लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना नष्ट गरिएको तथ्यांकले देखाएको छ।

पशु सेवा विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी सङ्घीय र स्थानीय सरकारसँग समन्वयमा नियन्त्रणका उपाय कार्यान्वयन भइरहेका छन्।

तर उपत्यका र काभ्रेमा संक्रमण नघटेकाले कुखुरापालन व्यवसाय र उपभोक्ता दुवै सतर्क रहनुपर्ने अवस्था रहेको छ।

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  ०८:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update