Harsamaya
 भारी वर्षा तथा हावाहुरीको सम्भावना
जल तथा मौसम विज्ञान महाशाखा ।

काठमाडौं - जल तथा मौसम विज्ञान महाशाखाले देशभर मनसुनी वायूको प्रभाव कायम रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ भने पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशका केही स्थान तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

महाशाखाले मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  ०६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update