Harsamaya

काठमाडौं - लेखक तथा नाटककार सुबास अधिकारीको नयाँ नाटक ‘नो सिग्नल’ विमोचन भएको छ । आधुनिक समाजमा महिलाको अस्तित्व, आत्मपहिचान, मनोविज्ञान र जीवनदर्शनलाई गहिरो रूपमा उजागर गर्ने ‘नो सिग्नल’ मंगलबार शिल्पी थिएटरमा विमोचन गरिएको हो । पुस्तकमाथि आयोजित अन्तरक्रियामा सहभागीहरूले नाटकको विषयवस्तु, संरचना, पात्र निर्माण र संवादले नेपाली रंगमञ्चमा नयाँ विमर्शको सुरुवात गर्ने विश्वास व्यक्त गरेका छन् ।

अभिनेत्री तथा निर्देशक पशुपति राईले ‘नो सिग्नल’ आफूले दुई–तीन वर्षअघि नै पाण्डुलिपिका रूपमा पढेको स्मरण गर्दै अहिले पुस्तकका रूपमा आएको संस्करण अझ परिष्कृत र प्रभावशाली बनेको बताइन् । उनका अनुसार नाटकको मुख्य महिला पात्र केवल एउटा पात्र नभई आजको समाजमा आफ्नो अस्तित्व खोजिरहेकी आधुनिक महिलाको प्रतिनिधि हो ।

उनले नाटकमा देखिने संवादहरू सतहमा सामान्य वा असम्बद्धजस्ता देखिए पनि ती संवादभित्र गहिरो दर्शन र जीवनप्रतिको प्रश्न लुकेको बताइन् । ‘यो पात्र मलाई आफैँजस्तो लाग्यो। उसले भोगेको द्वन्द्व, आफूलाई खोज्ने प्रयास र समाजसँगको संघर्ष आजका धेरै महिलाको साझा अनुभव हो,’ उनले भनिन् ।

राईले लेखक सुवास अधिकारीको लेखनमा ‘एब्सर्ड’ शैलीको प्रभाव देखिएको उल्लेख गर्दै कम पात्रमार्फत पनि गहिरो विषय उठाउन सकिने उत्कृष्ट उदाहरण ‘नो सिग्नल’ भएको बताइन् । उनका अनुसार नाटकले पाठकलाई पढिसकेपछि पनि लामो समयसम्म सोच्न बाध्य बनाउँछ ।

उनले विशेष रूपमा पुरुष लेखक भएर पनि सुबास अधिकारीले महिला पात्रको मनोविज्ञानलाई अत्यन्त संवेदनशील र विश्वसनीय ढंगले प्रस्तुत गर्न सफल भएको बताइन् । ‘महिलाले समेत सजिलै व्यक्त गर्न नसकेका अनुभूतिहरूलाई उहाँले निकै सुन्दर ढंगले शब्द दिनुभएको छ,’ उनले भनिन् ।

कार्यक्रमका सहजीकरणकर्ता युवराज घिमिरेले सीमित पात्र प्रयोग गरेर पनि गहन विषयलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिने उदाहरण ‘नो सिग्नल’ भएको उल्लेख गरे । उनले नाटकको संरचना, पात्रहरूको अन्तरसम्बन्ध र संवादले दर्शक तथा पाठकलाई अन्तिमसम्म बाँधेर राख्ने विश्वास व्यक्त गरे ।

उनले चलचित्र र रंगमञ्च दुवै क्षेत्रमा सक्रिय पशुपति राईसँग कम पात्र प्रयोग गरेर पनि कसरी प्रभावशाली कथा भन्न सकिन्छ भन्ने विषयमा धारणा राख्न आग्रह गरेका थिए। त्यसक्रममा राईले प्रत्येक पात्रले कथालाई नयाँ आयाम दिएको र कुनै पनि पात्र अनावश्यक रूपमा नराखिएको बताइन् ।

उनका अनुसार नाटकमा ‘केही नभइरहेको जस्तो देखिए पनि धेरै कुरा भइरहेको’ अनुभूति हुन्छ । प्रत्येक संवादले पात्रहरूको मनोविज्ञान, जीवनप्रतिको दृष्टिकोण र समाजभित्रको अस्तित्वलाई क्रमशः उजागर गर्दै लैजान्छ ।

अभिनेत्री तथा नाटक निर्देशक गुञ्जन दीक्षितले ‘नो सिग्नल’ समकालीन समाज र डिजिटल जीवनसँग गहिरो रूपमा जोडिएको नाटक भएको बताएकी छन् ।

उनले नाटकको विषयवस्तु, संरचना र संवाद अहिलेको पुस्तासँग प्रत्यक्ष सम्बन्धित रहेको बताइन् ।

उनले भनिन्, ‘‘नो सिग्नल’ एकै बसाइमा पढेर सकिने गरी लेखिएको छ । सामाजिक सञ्जाल, प्रविधि र आजको जीवनशैलीसँग यसको कथा निकै सान्दर्भिक छ । नाटकको महिला पात्रमार्फत आजको मानिसको एक्लोपन, आत्मपहिचान र संवादको आवश्यकता प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ ।’

दीक्षितले नाटकलाई रंगमञ्चमा प्रस्तुत गर्न प्रशस्त सिर्जनात्मक सम्भावना रहेको उल्लेख गर्दै सीमित पात्र र एउटै परिवेशमा पनि गहिरो विषय उठाइएको बताइन् ।

उनले भनिन्, ‘र्‍यान्डम फोन संवादहरू सुरुमा विसङ्गत लागे पनि अन्ततः ती पात्रहरूबीचको मानवीय सम्बन्ध र आफ्ना कुरा निर्धक्क राख्ने आवश्यकतालाई उजागर गर्छन् । यही पक्षले नाटकलाई अझ जीवन्त र समकालीन बनाएको छ ।’

लेखक सुबास अधिकारीले प्रविधिको तीव्र विकासका बीच पनि मानिसलाई अन्ततः मानिससँगकै सम्बन्ध र संवाद आवश्यक पर्ने सन्देश ‘नो सिग्नल’ नाटकले बोकेको बताएका छन् ।

उनले नाटकले मानवीय संवेदना, महिला–पुरुषबीचको असमान शक्ति सम्बन्ध र समाजमा स्थापित सोचमाथि प्रश्न उठाएको बताए । उनले भने, ‘प्राविधिक युगमा मानिसले जतिसुकै सामाजिक सञ्जाल र इलेक्ट्रोनिक उपकरणको प्रयोग गरे पनि अन्ततः उसलाई मानिस नै चाहिन्छ, संवाद गर्नका लागि । नाटकले मानवीय संवेदना र महिला–पुरुषबीच रहेको असमान सोचलाई पनि उजागर गर्ने प्रयास गरेको छ ।’

अधिकारीले करिब पाँच वर्षअघि नाटकको अवधारणा तयार भएको र तीन वर्षअघि पहिलो मस्यौदा लेखिएको जानकारी दिँदै केही महिनाअघि मात्रै यसलाई अन्तिम रूप दिएर प्रकाशन गरिएको बताए ।

उनले भने, ‘नाटक भनेको समाजकै यथार्थ बोल्ने माध्यम हो। ‘नो सिग्नल’ले पनि महिला-पुरुषलाई हेर्ने दृष्टिकोण र हाम्रो समाजमा रहेका केही यथार्थलाई प्रस्तुत गर्ने प्रयास गरेको छ ।’

साथै, उनले पछिल्ला वर्षहरूमा नेपाली रंगमञ्चप्रति दर्शकको आकर्षण बढ्दै गएको उल्लेख गर्दै वर्तमान अवस्था रंगकर्मका लागि उत्साहजनक रहेको धारणा व्यक्त गरे ।

वक्ताहरूले ‘नो सिग्नल’ केवल एउटा नाटक नभई आधुनिक समाज, सम्बन्ध, लैङ्गिक दृष्टिकोण र आत्मपहिचानमाथि गम्भीर प्रश्न उठाउने कृति भएको बताएका छन् । उनीहरूका अनुसार यसले नेपाली रंगमञ्च र साहित्यमा नयाँ बहस सिर्जना गर्ने सम्भावना बोकेको छ ।

तस्वीरहरु :-

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update