Harsamaya

काठमाडौँ - बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले कला र रङ्गमञ्चको प्रवर्द्धनका लागि पहल सुरु गरेको छ । मन्त्रालयले काठमाडौँको मण्डला थिएटरसँग सहकार्य गर्दै नयाँ रङ्गकर्मीहरू उत्पादन गर्न र नाटक निर्माणमा आर्थिक एवं प्राविधिक सहयोग उपलब्ध गराएको हो।

मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘इजलास जारी छ’का लागि बागमती प्रदेश सरकारले ७ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । प्राप्त निवेदनहरूमध्येबाट स्क्रिनिङ गरेर छनोट गरिएका १५ जना नयाँ युवाहरूलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको हो  । प्रशिक्षार्थीहरूलाई तालिम अवधिभर न्यूनतम फी, खाजा तथा प्रमाणपत्रको व्यवस्था गरिएको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौँका प्रमुख उत्तम चापागाईंले जानकारी दिए । 

चापागाईंले रङ्गमञ्च केवल मनोरञ्जन मात्र नभई समाज परिवर्तनको कडी भएको धारणा राखे ।  ‘रङ्गमञ्च, हाम्रो समाजमा गहिरो छाप र शिक्षा दिन्छन्’ उनले भने, ‘समाजलाई सुसंस्कृत र नैतिकवान् बनाउन ठूलो भूमिका खेल्छ।’

उनले चलचित्रजस्तै रङ्गमञ्च पनि एउटा सशक्त र सन्देशमूलक विधा भएकाले यसलाई पर्यटनसँग जोडेर लान आवश्यक रहेको बताए । मण्डला थिएटरले सरकारी सहयोग बराबर वा सोभन्दा बढी रकम साझेदारी गरेर यो व्यावसायिक नाटकको उत्पादन गरेको हो । 

बागमती प्रदेश सरकारले यसअघि पनि सांस्कृतिक संस्थानसँग मिलेर ‘बुद्ध थिएटर फेस्टिभल’ जस्ता कार्यक्रमहरू गर्दै आएको थियो । आगामी वर्षहरूमा पनि यस्ता कला, संस्कृति र भाषा प्रवर्द्धनका सृजनात्मक परियोजनाहरूलाई निरन्तरता दिने प्रदेश सरकारको योजना छ ।

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३  ०६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update