काठमाडौं - प्रसिद्ध भारतीय नाटककार विजय तेन्दुलकरद्वारा सन् १९६३ मा लेखिएको चर्चित नाटक ‘श्श्श...! इजलास जारी छ’ थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।
विजय विस्फोटले नेपालीमा भावानुवाद गरेको यस नाटकलाई युवा निर्देशिका गुन्जन दीक्षितले निर्देशन गरेकी छिन् । दुई दशकअघि गुरुकुल नाटकघरका लागि अनुवाद गरिएको यो नाटक लामो समयपछि नयाँ स्वरूपमा दर्शकमाझ आएको हो ।
‘इजलास जारी छ’का भावानुवादकर्ता विजय विस्फोट (जे.भी. देऊजा) ले नाटकले महिला अधिकार, यौन हिंसा र मानवअधिकारजस्ता गम्भीर विषयलाई उठाएकाले विशेषगरी पुरुष दर्शकले हेर्नुपर्ने बताएका छन् ।
हर समयसँग कुरा गर्दै उनले कलाकारहरू नयाँ भएकाले र नाटकको प्रस्तुति चुनौतीपूर्ण भएकाले आगामी दिनमा अझ सशक्त बन्दै जाने विश्वास व्यक्त गरे । आफूले केवल ९ दिनमै एक–एक पृष्ठ लेख्दै नाटकको भावानुवाद गरेको र कलाकारहरूले निकै कम समयमै कठिन सामग्रीमा मेहनत गरेको उनको भनाइ छ ।
विस्फोटका अनुसार विजय तेन्दुलकरले सन् १९६३ मा लेखेको यो नाटक भारतीय समाजमा केन्द्रित भए पनि यसले दक्षिण एसियाली समाज, विशेषगरी नेपालमा महिला अधिकार र यौन हिंसासम्बन्धी विद्यमान यथार्थलाई आज पनि उत्तिकै सान्दर्भिक रूपमा चित्रण गर्छ। त्यसैले यसलाई कानुनी र मानवअधिकारको दृष्टिकोणबाट पनि हेर्न आवश्यक रहेको उनले बताए ।
उनले आधुनिकताको नाममा भित्रिएका नयाँ सामाजिक अभ्यासलाई अन्धाधुन्ध स्वीकार गर्नुभन्दा त्यसका प्रभावबारे गम्भीर हुनुपर्ने धारणा पनि राखे। विशेषगरी युवा पुस्ताले आफ्नो मौलिक संस्कृति, सामाजिक यथार्थ र दीर्घकालीन प्रभावलाई बुझेर मात्रै नयाँ अभ्यास अपनाउनुपर्ने उनको सुझाव छ ।
कलाकार पशुपति राईले ‘इजलास जारी छ’ नाटकले समकालीन समाजका गम्भीर प्रश्नलाई प्रभावकारी रूपमा उठाएको बताएकी छन् ।
नाटक हेरेपछि प्रतिक्रिया दिँदै उनले निर्देशक गुञ्जन दीक्षितको निर्देशन, प्रस्तुति र कलात्मक दृष्टिकोणको खुलेर प्रशंसा गरिन् । विजय तेन्दुलकरको मूल कृतिलाई विजय विष्फोटले गरेको भावानुवाद पनि प्रभावशाली रहेको उनको भनाइ थियो ।
उनले सबै कलाकारले आफ्नो भूमिकालाई न्याय गरेको उल्लेख गर्दै धेरै कलाकारका लागि पहिलो मञ्चीय अनुभव भए पनि अभिनय निकै सशक्त रहेको बताइन् ।
पशुपति राईका अनुसार वर्षौँअघि लेखिएको नाटक भए पनि यसले अहिलेको नेपाली समाजलाई उत्तिकै प्रतिबिम्बित गर्छ । नाटकले दर्शकलाई मनोरञ्जनसँगै समाजका गम्भीर विषयमा सोच्न र बहस गर्न प्रेरित गर्ने उनको विश्वास छ ।
१५ जना नवोदित कलाकारको सहभागितामा नाटक साउन १० गतेसम्म मञ्चन हुनेछ। सोमबारबाहेक हरेक दिन साँझ ५:३० बजे तथा शनिबार दिउँसो १:३० बजे अतिरिक्त प्रदर्शन हुनेछ ।
निर्देशक दीक्षितका अनुसार नाटकले दर्शकलाई समाजका स्थापित मान्यता र संरचनाबारे सोच्न प्रेरित गर्ने उद्देश्य राखेको छ ।
तस्वीरहरु :-



